हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको रासायनिक मल वीरगंज नाकाबाट धमाधम भित्रिन थालेको छ । सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत खरिद गरिएको युरिया र डीएपी मलमध्ये हालसम्म १३ हजार ७६१ टन वीरगंज आइपुगेको छ ।
कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगंजका प्रमुख दिनेश शर्माका अनुसार भारतबाट खरिद गरिएको ३० हजार टन युरियामध्ये ७ हजार ९५४ टन र २० हजार टन डीएपीमध्ये ५ हजार ८०७ टन मल वीरगंज भित्रिएको हो । कम्पनीका अनुसार पछिल्लो एक महिनादेखि यी दुई प्रकारका मल आयात भइरहेको छ ।
कुल खरिद गरिएको युरियामध्ये ११ हजार ५०० टन र डीएपीमध्ये ७ हजार ६०० टन वीरगंज प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयका लागि छुट्याइएको कम्पनीले जनाएको छ । भैरहवा कार्यालयका लागि छुट्याइएको मलसमेत वीरगंज नाकाबाट आयात भइरहेको छ । वीरगंजमा भित्रिएको मल सम्बन्धित प्रादेशिक कार्यालयमा पठाउने व्यवस्था मिलाइएको शर्माले जानकारी दिए ।
शर्माका अनुसार अहिले आयात भइरहेको मल आगामी हिउँदे बालीका लागि वितरण गरिनेछ । विशेषगरी गहुँ र तेलहन बालीका लागि युरिया तथा डीएपी मल आवश्यक पर्ने भएकाले सोहीअनुसार वितरणको तयारी भइरहेको उनले बताए ।
हिउँदे बाली लगाउने समय नजिकिँदै गर्दा मलको आयात र वितरणलाई प्राथमिकता दिइएको छ । भारतबाट जिटुजी प्रक्रियामार्फत खरिद गरिएको मलले गहुँ तथा तेलहन खेतीका लागि आवश्यक रासायनिक मलको आपूर्तिमा सहयोग पुग्ने कृषि सामग्री कम्पनीको अपेक्षा छ ।
भिडियाे रिपाेर्ट