जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका तथा जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–१०, भावपुरका २३ वर्षीय विष्णु चौधरी थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार चौधरी २०८२ भदौ २५ गते जेनजी आन्दोलनका क्रममा तौलिहवा कारागारबाट फरार भएका थिए ।
फरार कैदीको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई रुपन्देहीको मायादेवी गाउँपालिका–८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका चौधरीलाई बाँकी कैद भुक्तानका लागि असोज २३ गते कारागार कार्यालय तौलिहवा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चौधरीविरुद्ध २०८० असोज ७ गते भएको घटनासम्बन्धी जबरजस्ती करणी मुद्दामा अदालतले २०८० चैत २९ गते फैसला गर्दै १८ वर्ष कैद सजाय सुनाएको थियो ।
प्रहरीका अनुसार उनले यसअघि दुई वर्ष तीन महिना १९ दिन कैद भुक्तान गरिसकेका छन्। अब उनले १५ वर्ष आठ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।