साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणले आइतबार बिहान दिएको जानकारीअनुसार आक्रमणमा विभिन्न देशका नागरिक प्रभावित भएका छन् । साउदी नेतृत्वको गठबन्धनले घटनाका लागि यमनका इरान समर्थित हुथी विद्रोहीलाई जिम्मेवार ठहराएको छ ।
इरान युद्ध सुरु भएयता खाडी क्षेत्रमा भएको यो सबैभन्दा घातक आक्रमण भएको बताइएको छ । पछिल्लो समय हुथी विद्रोही र साउदी समर्थित यमनी सरकारबीचको द्वन्द्व चर्किँदै जाँदा क्षेत्रीय सुरक्षा चुनौती थप बढेको छ ।
एक क्षेत्रीय अधिकारीका अनुसार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल ३ र ४ लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा ती अधिकारीले उक्त टर्मिनलबाट आन्तरिक उडान सञ्चालन हुँदै आएको जानकारी दिएका छन् ।
साउदी अधिकारीहरूले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेमा चार जना साउदी नागरिक, दुई जना बंगलादेशी नागरिक तथा प्यालेस्टिनी, अमेरिकी, इजिप्टियन, जोर्डनी, सिरियाली र सुडानी नागरिक एक–एक जना रहेका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विमानस्थलमा पछिल्लो एक सातादेखि पटक–पटक आक्रमण हुँदै आएको बताइएको छ । शनिबार भएको आक्रमणपछि साउदी नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको थियो ।
उडान ट्र्याकिङ प्लेटफर्म ‘फ्लाइटराडार२४’ का अनुसार विमानस्थल बन्द रहने अवधि बढाएर आइतबार राति ९ बजेसम्म पुर्याइएको थियो ।
आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाले गर्ने सम्भावित कारबाहीमा अमेरिका सहभागी हुने वा नहुने विषयमा विचार भइरहेको बताएका छन् । शनिबार दिउँसो उनले हालैको आक्रमणबारे जानकारी प्राप्त भएको उल्लेख गर्दै यस विषयमा छिट्टै निर्णय लिइने बताएका थिए।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सामाजिक सञ्जालमार्फत आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन्।
विश्लेषकहरूका अनुसार इरानले साउदी अरेबियामाथि दबाब बढाउन हुथी विद्रोहीलाई प्रयोग गरिरहेको छ । विमानस्थलजस्तो संवेदनशील नागरिक पूर्वाधारमा भएको आक्रमणले खाडी क्षेत्रमा सुरक्षा अवस्था थप जटिल बन्न सक्ने आकलन गरिएको छ । यद्यपि, आक्रमणको जिम्मेवारी र घटनाको विस्तृत विवरणबारे सम्बन्धित पक्षबाट थप आधिकारिक पुष्टि आवश्यक छ ।
भिडियाे रिपाेर्ट