रोहित पौडेलको शतकीय पारीको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओडीआई शृङ्खलाको पहिलो खेलमा क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक १०१ रन बनाए । उनले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए । अर्जुन कुमालले २३ रनको योगदान दिए । लिग–२ को अन्तिम शृङ्खला खेलिरहेका नेपाल र क्यानडा दुवैका लागि यो खेल महत्त्वपूर्ण छ । शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो ।
ओमानसँग क्यानडा पराजित भएपछि नेपालका लागि लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप छनोटको सम्भावना समाप्त भएको छ । अब नेपालको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० मान्यता जोगाउनु हुनेछ ।
लिग–२ को अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंक जोड्दै सातौँ स्थानमा छ । क्यानडा भने ३३ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा रहेको छ ।