नेपालमा ‘छक्का पञ्जा’ सिरिजमार्फत दर्शकमाझ लोकप्रिय बनेका कलाकार अमेरिका गएपछि सामाजिक सञ्जालमा सक्रिय देखिएका थिए ।
उनी अमेरिकामा रहँदा फेसबुकमा छोटा–छोटा हास्य भिडियो पोस्ट गर्थे। उनका भिडियोले सामाजिक सञ्जालमा चर्चा पाउँदै गएपछि उनी अमेरिकामै बसेर आम्दानी गरिरहेको हुन सक्ने दर्शकले अनुमान गर्न थालेका थिए l
तर, उनी नेपाल फर्किएपछि भने उनको फिल्मी गतिविधिबारे चासो बढेको छ। विशेषगरी, ‘छ माया छपक्कै’ को दोस्रो भागमा उनको नाम नदेखिएपछि दर्शकमाझ विभिन्न प्रश्न उठ्न थालेका छन् l
पहिलो भागमा उनको महत्त्वपूर्ण भूमिका थियो। पर्दामा उनको उपस्थिति हुँदा दर्शकले हास्यरसको आनन्द लिने गरेका थिए। तर, दोस्रो भागमा भने उनी देखिएका छैनन्। फिल्मको क्रेडिट लाइनमा समेत उनको नाम उल्लेख नभएको बताइएको छ।
नेपालमा रहँदा अभिनय क्षेत्रमा सक्रिय रहेका उनी एकाएक अमेरिका पुगेका थिए। त्यसपछि उनी सामाजिक सञ्जालमा नियमित रूपमा छोटा हास्य भिडियो पोस्ट गर्न थाले। अमेरिकामा उनको वास्तविक काम र आम्दानीको स्रोतबारे भने सार्वजनिक रूपमा स्पष्ट जानकारी छैन।
नेपाल फर्किएपछि उनी फिल्मी गतिविधिभन्दा अन्य काममा पनि सक्रिय देखिएका छन्। हालै उनले आफ्नी जीवनसंगिनीको फिल्मको प्रचारप्रसारमा समय दिइरहेको बताइएको छ ।
यसैबीच, करिब दुई साताअघि उनी काठमाडौंको शंखमुलमा आयोजित एक क्याफेको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। उनले बाबुराम क्याप लगाएर क्याफेको रिबन काटेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त भिडियोको पृष्ठभूमिमा ‘छ माया छपक्कै’ को गीतसमेत बजाइएको थियो ।
पहिलो भागमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कलाकार दोस्रो भागमा नदेखिनुको कारण भने स्पष्ट भएको छैन। उनको अनुपस्थितिले फिल्मप्रेमीमाझ चासो बढाएको छ ।