‘प्रेमचरो’का रूपमा चर्चित कलाकार नारायण त्रिपाठीको कमब्याक फिल्म ‘चमेलीको पोई’ बक्स अफिसमा कमजोर देखिएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको ‘सिनेपा बक्स अफिस’को तथ्याङ्कअनुसार फिल्मले प्रदर्शनको पहिलो साता ५ लाख ५० हजार २०० रुपैयाँ मात्र कमाएको छ । बोर्डको रिपोर्टअनुसार असोज २५ गते आइतबार राति ११ः५९ बजेसम्म फिल्मका १ हजार ७४८ वटा टिकट बिक्री भएका छन्। एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म गत असोज १६ गते शुक्रबारदेखि प्रदर्शनमा आएको थियो ।
फिल्ममा नारायण त्रिपाठीसँगै सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राईलगायत कलाकारको अभिनय रहेको छ। त्यस्तै, ‘चमेलीको पोई’सँगै प्रदर्शनमा आएको अर्को फिल्म ‘चंगुल’को व्यापार पनि निराशाजनक देखिएको छ। फिल्मले पहिलो साता १ लाख ३८ हजार ३०० रुपैयाँ मात्र कमाएको छ। यस अवधिमा फिल्मका ४२५ वटा टिकट बिक्री भएका छन् ।
राम गौतमको निर्देशनमा बनेको ‘चंगुल’मा रवि कार्की, लय सङ्ग्रौला, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारको अभिनय रहेको छ । पहिलो साताको बक्स अफिस तथ्याङ्कले दुवै फिल्मको व्यापार कमजोर रहेको देखाएको छ ।