ओमानको सोहार तट नजिकै भारतीय चालक दल सवार तेल ट्यांकरमाथि ड्रोन आक्रमण हुँदा दुई जना नाविक बेपत्ता भएका छन्। घटनापछि ट्यांकरमा सवार अन्य नौ जनाको सकुशल उद्धार गरिएको छ ।
आइतबार, अक्टोबर ११ मा सोहार एन्करेज क्षेत्रमा ‘एमटी पेट्रो डल्फिन’ नामक भारतीय तेल ट्यांकरमाथि ड्रोन आक्रमण भएको हो। जहाजमा ११ जना भारतीय नाविक सवार रहेको बताइएको छ ।
आक्रमणपछि स्थानीय सुरक्षा निकाय तथा ओमानी तटरक्षक बलले उद्धार अभियान सञ्चालन गरी नौ जना नाविकलाई सुरक्षित स्थानमा पुर्याएका थिए। बेपत्ता दुई नाविकको खोजी कार्य जारी रहेको छ ।
भारतका केन्द्रीय बन्दरगाह, जहाजरानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै बेपत्ता नाविकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनका अनुसार बेपत्ता नाविकको खोजी तथा उद्धारका लागि भारतीय सरकारले ओमानी अधिकारी र सम्बन्धित कूटनीतिक निकायसँग समन्वय गरिरहेको छ ।
ट्यांकरमाथि कसले र के उद्देश्यले ड्रोन आक्रमण गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। कुनै समूहले पनि घटनाको जिम्मेवारी लिएको छैन । घटनाबारे सम्बन्धित सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन् ।