गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन् ।
भारतको नयाँदिल्लीमा मंगलबारदेखि हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का सदस्य राष्ट्रका गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी भारत गएका हुन्। गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो ।
बैठकमा बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन् । गृहमन्त्रीस्तरीय बैठकअघि सदस्य राष्ट्रका गृह सचिवहरूको बैठक आयोजना हुनेछ ।
सन् १९९७ मा क्षेत्रीय संगठनका रूपमा स्थापना भएको बिमस्टेकमा गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक हुन लागेको हो। यस बैठकमा यसअघि गृह सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा कानुन कार्यान्वयन, गुप्तचर निकाय तथा सुरक्षा निकायबीच सहकार्य र समन्वय सुदृढ गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
यसअघि सन् २०१८ अगस्ट ३० र ३१ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सदस्य राष्ट्रका नेताहरूले कानुन कार्यान्वयन तथा सुरक्षा निकायहरूबीच सहकार्य र समन्वयलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गृहमन्त्रीस्तरीय बैठकलाई सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सुरक्षा सहकार्य र समन्वयका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।