आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली ले वेस्ट इन्डिज क्रिकेट टोली लाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।
भारतको वानखडे स्टेडियम मा वेस्ट इन्डिजका कप्तान शाइ होप ले टस जितेपछि नेपाललाई ब्याटिङको निम्तो दिएका थिए। नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी ले ५८ रनको महत्वपूर्ण इनिङ्स खेले। ट्वान्टी–२० विश्वकपमा नेपाली खेलाडीबाट बनेको यो केवल दोस्रो अर्धशतक हो । यसअघि सुवास खकुरेल ले २०१४ विश्वकपमा अर्धशतक बनाएका थिए ।
नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो। अकिल होसेन ले कुशल भुर्तेल लाई बोल्ड गरे । त्यसपछि कप्तान रोहित पौडेल ५ रनमै आउट भए ।
जेसन होल्डर ले आसिफ र आरिफ शेखलाई आउट गर्दै नेपाललाई दबाबमा राखेका थिए । पावरप्लेको ६ ओभरमा नेपालले २२ रन बनाउँदै ३ विकेट गुमाएको थियो ।
मध्यक्रममा लोकेश बमले १३ रन जोडे। त्यसपछि दीपेन्द्र र गुलशन झा बीच २७ रनको साझेदारी भयो। गुलशनलाई रोस्टन चेसले आउट गरे ।
अन्तिमतिर दीपेन्द्र र सोमपाल कामी बीच ५४ रनको महत्वपूर्ण साझेदारी भयो, जुन नेपाली इनिङ्सकै ठूलो साझेदारी रह्यो । सोमपालले २६ रन बनाएर अविजित रहे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए भने म्याथ्यु फोर्डे ले किफायती बलिङ गर्दै १ विकेट लिए ।
नेपाल समूह ‘सी’ को पुछारमा छ भने वेस्ट इन्डिज शीर्ष स्थानमा रहेको छ। नेपालका लागि सुपर एटमा पुग्ने सम्भावना गणितीय रूपमा मात्र बाँकी रहेको छ ।