आईसीसी टी–२० विश्वकप २०२६ मा नेपाल समूहको लगातार तेस्रो खेलमा पराजित हुँदै बाहिरिएको छ । नेपालले समूहको अन्तिम खेलअघि नै सुपर–८ मा नपुग्ने निश्चित भएको हो ।
नेपालले इंग्ल्यान्डसँग चार रनले र इटालीसँग १० विकेटले पराजित भइसकेको थियो भने आइतबार वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले हराएको हो । लगातार तीन खेल जितेको वेस्ट इन्डिज सुपर–८ मा पुगेको छ ।
आइतबार भारतको वानखडे स्टेडियम मा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै ५८ रन बनाएका थिए। उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । यो नेपालले टी–२० विश्वकपमा १२ वर्षपछि बनाएको अर्धशतक हो । यसअघि २०१४ मा सुवास खकुरेल ले अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए ।
नेपालको सुरूवात राम्रो भने हुन सकेन। पहिलो ओभरमै कुशल भुर्तेल अकिल हुसेनबाट बोल्ड भए । कप्तान रोहित पौडेल ५ रनमै एलबीडब्लू आउट भए ।
आसिफ शेख, आरिफ शेख र गुल्सन झा पनि कम रनमा आउट भए । लोकेश बमले १३ रन बनाए भने दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे । सोमपाल १५ बलमा २६ रन बनाएर अविजित रहे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डर ले ४ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चे । यस खेलसँगै सोमपाल कामी नेपालका लागि तीन पटक विश्वकप खेल्ने पहिलो खेलाडी बने। उनले २०१४ र २०१६ को विश्वकपमा पनि खेलेका थिए। नेपालले समूहको अन्तिम खेल मंगलबार राति स्कटल्यान्डसँग मुम्बईमै खेल्नेछ ।