आइतबार बिहान गाजामा इजरायली हवाई आक्रमणमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी रेड क्रसका अनुसार उत्तरी गाजाको एउटा शिविरमा ६ जना र दक्षिणी क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाले ज्यान गुमाएका छन् ।
इजरायली सेनाले हमासद्वारा युद्धविराम उल्लंघन भएपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ हरूमाथि आक्रमण गरिएको दाबी गरेको छ । गत अक्टोबर १० देखि लागू भएको युद्धविराम सम्झौता भए पनि इजरायल र हमास दुवैले एकअर्कामाथि निरन्तर सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन् ।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता कम्तीमा ६ सय जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनको तयारी भइरहँदा हिंसा बढेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै ‘बोर्ड अफ पिस’ नामक नयाँ निकायको घोषणा गरेका छन् । यस बोर्डलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले गाजाको सीमा सुरक्षा र हमासको निशस्त्रीकरणको जिम्मेवारी दिएको छ ।
फेब्रुअरी १९ मा वासिङ्टनमा हुने बोर्डको पहिलो बैठकले गाजामा नयाँ प्यालेस्टिनी सरकार गठन र युद्धपछिको पुनर्निर्माणको कामको नेतृत्व गर्नेछ । ट्रम्पका अनुसार बोर्डका सदस्य राष्ट्रहरूले गाजा पुनर्निर्माणका लागि ५ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
हमासले भने स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नबिसाउने अडान राख्दै आएको छ । अर्कोतर्फ, बोर्ड अफ पिसको सदस्य राष्ट्र इन्डोनेसियाले युद्धविरामको दोस्रो चरण सफल बनाउन ८ हजार सैनिक गाजा पठाउने घोषणा गरिसकेको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको यस युद्धमा अहिलेसम्म गाजामा ७१ हजार ८ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।