आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपाल राष्ट्रिय क्रिकेट टोली ले स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली सँग प्रतिस्पर्धा गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् को यस प्रतियोगितामा सुरुवाती तीनवटै खेलमा हार बेहोरेको नेपाल आज सान्त्वना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।
नेपालले सन् २०१४ मा अफगानिस्तानसँग जित निकालेयता टी–२० विश्वकपमा कुनै खेल जित्न सकेको छैन । १२ वर्षदेखिको जितको खडेरी तोड्दै प्रतियोगिता सकारात्मक नतिजासहित टुंग्याउने लक्ष्य नेपाली टोलीको रहेको छ ।
यस संस्करणको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल जितको नजिक पुगेर पराजित भएको थियो । त्यसपछिका दुई खेलमा भने टोली एकपक्षीय रूपमा पराजित भयो ।
नेपाली टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले स्कटल्यान्डविरुद्ध जित निकाल्दै सकारात्मक सन्देशसहित विश्वकप टुंग्याउने लक्ष्य रहेको बताएका छन् । उनले टोलीले बारम्बार दोहोर्याइरहेको गल्ती सुधार गर्न आवश्यक रहेको पनि बताए ।
उता स्कटल्यान्डका खेलाडी टम ब्रुसले नेपाललाई बलियो टोली भन्दै खेललाई हल्का रूपमा नलिने बताएका छन् । उनले इंग्ल्यान्डविरुद्ध नेपालको प्रदर्शन विश्वकपकै ठूलो अपसेट हुन सक्ने बताएका थिए । साथै, नेपाली समर्थकहरूको उत्साह असाधारण हुने उल्लेख गर्दै रोमाञ्चक खेलको अपेक्षा गरिएको बताए ।
हेड टु हेड अवस्था
टी–२० अन्तर्राष्ट्रिय वरियतामा स्कटल्यान्ड १४औं स्थानमा छ भने नेपाल १६औं स्थानमा रहेको छ । हालसम्म नेपाल र स्कटल्यान्डबीच दुई पटक भेट भएको छ, जहाँ दुवैले एक–एक खेल जितेका छन् ।
टिम कम्बिनेशन र सम्भावित ११
नेपाल बाहिरिसकेकाले आजको खेलमा बेन्चका खेलाडीलाई मौका दिने सम्भावना रहेको छ । बसिर अहमद र सन्दीप जोराले मौका पाउन सक्ने अनुमान गरिएको छ ।
नेपालको सम्भावित ११:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, करण केसी/ललित राजवंशी, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने
स्कटल्यान्डको सम्भावित ११:
जर्ज मन्से, माइकल जोन्स, रिची बेरिङटन, म्याथ्यु क्रस, ब्रान्डन म्याकमुलेन, माइकल लिस्क, मार्क वाट, टम ब्रुस, ब्राड्ली ह्वील, ज्याक जार्भिस, ओलिभर डेभिड्सन
प्रभाव पार्न सक्ने खेलाडी
नेपालका लागि दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र सन्दीप लामिछाने प्रमुख खेलाडी रहनेछन् । स्कटल्यान्डका लागि जर्ज मन्से, ब्रान्डन म्याकमुलेन र मार्क वाट प्रभावशाली बन्न सक्छन् ।
खेल विवरण
खेल: नेपाल भर्सेस स्कटल्यान्ड ( समूह ‘सी’ )
मिति: ५ फागुन, मंगलबार
समय: बेलुका ७:१५ बजे
स्थान: वानखेडे स्टेडियम
मौसम: सफा, बेलुका डिउ आउन सक्ने