आज नेपाल मा ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै छ । सहिदहरूको बलिदानीपूर्ण संघर्षको बलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको थियो ।
दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री ले हाँसीहाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरंकुश राणा शासनको अन्त्य भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यस अवसरमा देशभर सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् ।
२००७ साल फागुन ७ गतेलाई नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादुर्भाव भएको गौरवपूर्ण तथा अविस्मरणीय दिनका रूपमा लिने गरिएको छ ।