सिंहदरबार परिसरभित्र संघीय संसदको नयाँ भवन अहिले निर्माणाधीन छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार निर्माण स्थल निरीक्षण गरेका छन् ।
निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अध्यक्ष दाहालले नयाँ संसद भवनको गति अपेक्षाअनुसार नभएको स्पष्ट पारेका छन् । उनले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्न सक्नेगरी काम पूरा गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष दाहालका अनुसार भवन निर्माणको स्तर र गति अपेक्षाभन्दा कम देखिएको छ। यद्यपि, पछिल्लो समय केही प्रगति भएको छ । उनले केही दिनअघि मात्रै सहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर आवश्यक निर्देशन दिएका थिए ।
भवन सञ्चालनका लागि प्राथमिकता
अध्यक्ष दाहालले भनेका छन् कि सम्पूर्ण भवन निर्माण तुरुन्तै सकिएको नहुँदा पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्छ। निर्वाचनपछि नयाँ भवनमै सदन चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको छ ।
सरकारी तथ्यांकअनुसार हालसम्म भवन निर्माणको काम करिब ८८ प्रतिशत मात्र सम्पन्न भएको छ । २०७६ असोज १ गते शिलान्यास गरिएको भवन ६ वर्ष पूरा हुँदै गर्दा पनि निर्माण पूर्ण भएको छैन ।
प्रतिनिधिसभाको बैठक कक्षको निर्माण धमाधम भइरहेको छ । हाल हलमा केही सिट राखिसकिएको छ भने साउण्ड प्रुफिङको काम जारी छ । तर हलको सिलिङको काम पूरा नभएसम्म विद्युत् जडान, एसी र माइक सिस्टम जडानको काम सुरु हुँदैन ।
भवन परिसरमा अहिले सवारी साधन पार्किङ, प्रवेश गेटमा फलामका ढोका, तार भूमिगत गर्ने लगायत काम भइरहेका छन् ।
लागत र संरचना
संसद भवनको प्रारम्भिक लागत ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ अनुमान गरिएको थियो । पाँच पटक म्याद थप्दा हाल लागत ६ अर्ब ३० करोड पुगेको छ । निर्माण कार्य बाहेक साजसज्जा र माइक सिस्टम जडानका लागि २ अर्ब ३४ करोड छुट्टै खर्च भइरहेको छ। दुवै काम जोड्दा कुल लागत ८ अर्ब ६४ करोड रुपैयाँ पुग्ने अनुमान छ ।
निर्माणाधीन संसद परिसरमा दलका कार्यालय, सचिवालय भवन, सुरक्षाकर्मीको भवन, अन्डरग्राउन्ड पार्किङ लगायतका संरचना निर्माण भइसकेका छन् ।