काठमाडौं उपत्यकाको वायुप्रदूषण क्रमशः घटिरहेको छ । शुक्रबार दिउँसो उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्युआई) घटेर ९९ पुगेको छ ।
गत मंगलबार उपत्यकाको एक्युआई १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो। हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभाग ले जनाएको छ ।
एक्युआईका आधारमा मंगलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो। हाल भने १८औँ स्थानमा झरेको छ । अहिले लाहोर ३७३ एक्युआईसहित पहिलो स्थानमा रहेको छ भने कोलकाता १८६ एक्युआईसहित दोस्रो स्थानमा रहेको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी ले सुक्खा मौसममा वायुप्रदूषण बढ्ने र वर्षा तथा हावा चल्दा प्रदूषण घट्ने जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाले हावामा रहेका धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्छ भने हावाले प्रदूषणका कण हटाउँदा वायु गुणस्तर सुधार हुन्छ । दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको उहाँले बताउनुभयो ।
वातावरणविद् भूषण तुलाधार ले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेको सुझाव दिनुभएको छ ।