सुशील कुमार कानु ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा आइतबार पर्सागढी नगरपालिका–९ का बडेर्वा र तेलिया तथा वडा नम्बर ७ को फुलवारीयामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराए। उनले घण्टी छापमा मतदान गरी भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा साथ दिन आग्रह गरे ।
कानुले प्रजातन्त्र स्थापनादेखि नै विभिन्न राजनीतिक दलहरूले भ्रष्टाचार गर्दै मुलुकको अर्थतन्त्रलाई कमजोर बनाएको आरोप लगाए । अब परिवर्तनको समय आएको उल्लेख गर्दै उनले देशलाई सही दिशामा लैजान घण्टी छापमा मतदान गर्न आह्वान गरे ।
उनले क्षेत्रमा दीर्घकालीन रूपमा देखिँदै आएका समस्या, तिनका कारण र सम्भावित समाधानबारे स्थानीयसँग खुला छलफल गरे । निर्वाचित भएपछि महिलाहरूलाई घरमै बसेर सिक्न सकिने प्राविधिक योग्यतासहितका कृषि तथा पशुपालन तालिम, सिलाइ–कटाइजस्ता सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । “यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउने र पारिवारिक आम्दानी बढाउन टेवा पुग्नेछ,” उनले भने ।
स्थानीय बासिन्दाले वर्षौँदेखि कृषि क्षेत्रमा जङ्गली जनावरबाट हुने क्षतिको समस्या उठाएका थिए। कानुले त्यसको समाधानका लागि प्रभावकारी नीति निर्माण, उचित क्षतिपूर्ति व्यवस्था तथा दीर्घकालीन कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “किसानको पसिनाको सम्मान हुने व्यवस्था गर्न म सदनमा निरन्तर आवाज उठाउनेछु,” उनले भने ।
कार्यक्रममा सहभागी स्थानीयवासीले कानुलाई नयाँ सोच, स्पष्ट योजना र जनताको समस्या प्रत्यक्ष सुन्ने उम्मेदवारका रूपमा चित्रण गर्दै यसपटक परिवर्तनका लागि रास्वपालाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।