पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारविरुद्ध ‘खुला युद्ध’ घोषणा गरेको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै इस्लामावादको धैर्यता समाप्त भएको उल्लेख गरेका छन् । उनले अफगानी तालिबानविरुद्ध खुला कारबाही सुरु गरिएको बताएका छन् ।
बिहीबार राति अफगानिस्तानले पाकिस्तानको सीमा क्षेत्रका ६ भन्दा बढी स्थानमा हमला गरेको बताइएको छ । तालिबान सरकारले उक्त आक्रमणलाई गत आइतबार पाकिस्तानले सीमा क्षेत्रमा गरेको हमलाको प्रतिउत्तर भनेको छ ।
तालिबानका सहायक प्रवक्ता हमदुल्लाह फिरातका अनुसार गएरातिको हमलामा ५५ पाकिस्तानी सैनिक मारिएको र केहीलाई नियन्त्रणमा लिइएको दाबी गरिएको छ ।
यसैबीच, पाकिस्तानले शुक्रबार बिहानै अफगानिस्तानका काबुल, पक्तिका र कान्दाहारका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारका अनुसार ती क्षेत्रमा तालिबानका रक्षा संरचनालाई लक्ष्य गरी कारबाही गरिएको हो । उनका अनुसार आक्रमणबाट तालिबानका दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय तथा ८० भन्दा बढी ट्यांक नष्ट गरिएको दाबी गरिएको छ ।
पाकिस्तानले आफ्ना सैन्य अपरेशनमा १३३ तालिबान सदस्य मारिएको र २०० घाइते भएको दाबी गरेको छ । यद्यपि यी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको BBCले जनाएको छ ।
त्यस्तै, अमेरिकी टेलिभिजन नेटवर्क CNN ले अफगानी अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी हमलामा ८ सैनिकको मृत्यु र ११ जना घाइते भएको उल्लेख गरेको छ । साथै, नांगरहारस्थित शरणार्थी शिविरमा १३ जना नागरिक घाइते भएको तालिबान सरकारको गृहमन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
तालिबान सरकारका मुख्य प्रवक्ता जाबिउल्लाह मुजाहिदले पनि शुक्रबार बिहानै पाकिस्तानले काबुल, पक्तिका र कान्दाहारका केही स्थानमा बमबारी गरेको पुष्टि गरेका छन् ।
स्थानीय स्रोतका अनुसार शुक्रबार बिहान काबुलमा शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो। राति करिब १:५० बजे लडाकु विमानको आवाजसँगै विस्फोट भएको र बिहान २:३० बजेसम्म केन्द्रीय काबुल क्षेत्रमा गोली चलेको आवाज सुनिएको बताइएको छ ।
पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीच सीमापार झडप तीव्र बन्दै गएको छ । गत अक्टोबर २०२५ मा युद्धविराममा सहमति भए पनि त्यसयता पटक–पटक तनाव बढ्दै आएको छ ।
गत साता पाकिस्तानले अफगानिस्तानभित्र हवाई आक्रमण गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको तालिबानले जनाएको थियो । पाकिस्तानले भने ती आक्रमण सीमा नजिकका सात कथित मिलिटेन्ट क्याम्पलाई लक्षित गरिएको दाबी गरेको थियो ।
दुवै पक्षले एक–अर्कामाथि पहिले आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।