नेपाल प्रहरीले पर्सामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
परालले छोपेर लैजाँदै गरेको अवस्थामा प्रहरीले २ सय किलोभन्दा बढी गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार जिराभवानी गाउँपालिका–४, पर्सा बाट २ सय १३ किलो लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा उक्त गाँजा बरामद गरिएको हो ।
उनका अनुसार ठूलो परिमाणमा गाँजाको तस्करी भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले सरप्राइज चेकजाँच गरेका थिए । सो क्रममा परालले छोपेर ट्र्याक्टरमा लैजाँदै गरेको अवस्थामा गाँजा फेला परेको हो ।
प्रहरीले लागुऔषध गाँजासहित मे १ त ५७१४ नम्बरको ट्र्याक्टरसमेत नियन्त्रणमा लिएको जनाएको छ । ट्र्याक्टर चालक भने प्रहरी देख्नेबित्तिकै सवारीसाधन छाडेर फरार भएको बताइएको छ । बरामद गरिएको गाँजा र ट्र्याक्टर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
साथै ट्र्याक्टरको कागजातका आधारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।