नेकपा एमालेले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ। भक्तपुरस्थित गुण्डुमा आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको अन्तिम नामावली स्वीकृत गरेको हो। एमालेले समानुपातिकतर्फ १६ सिट जितेको छ।
समानुपातिक अन्तर्गत चयनित सांसदहरूको विवरण अनुसार खस आर्य समूहबाट ५ जना, आदिवासी जनजाति समूहबाट ४ जना, मधेसी समूहबाट ३ जना, दलित समूहबाट २ जना, थारु समूहबाट १ जना र मुस्लिम समूहबाट १ जना सांसद चयन गरिएको छ।
खस आर्य महिलातर्फ पूर्व मन्त्री पद्मा अर्याल, टुकाभद्रा हमाल, र पिछडिएको क्षेत्रबाट यशोदा कुमारी बराल चयन भएका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल समानुपातिक सांसद बन्ने भएका छन्।
आदिवासी जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर बादल र कुलभक्त शाक्य चयन भएका छन्। मधेसी क्लस्टरबाट रिङ्ग्ला यादव, यशोदा कुमारी यादव र चन्द्रेश्वर मण्डल सांसद बन्नेछन्। दलित क्लस्टरबाट विष्णुमाया वीके र नीता घतानी, थारु क्लस्टरबाट कृपाराम राणा र मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकी सांसदमा चयन भएका छन्।
सचिवालय बैठकबाट पारित यो सूची अब अन्तिम प्रमाणीकरणका लागि निर्वाचन आयोगमा पठाइनेछ।
यो निर्णयसँगै एमालेले समानुपातिक सांसद चयन प्रक्रिया पूरा गरी प्रतिनिधि सभा गठनमा आफ्नो तयारी पूरा गरेको छ।