डिल्लीबजार कारागारबाट ज्यान मार्ने उद्योगको कसुरमा कैद काटेर छुटेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई ठमेलमा भव्य स्वागत गरिएको छ। जेलबाट बुधवार छुटेका मनाङे शनिबार ठमेल पुगेका थिए। उनलाई ठमेलका व्यवसायी तथा समर्थकले क्लब नोभामा स्वागत गरेका थिए।
मनाङे एक समय काठमाडौंमा ‘गुन्डा नाइके’को रूपमा परिचित थिए। त्यतिबेला ‘चक्रे मिलन’ भनिने मिलन गुरुङको अर्को समूहसँग उनी विवादमा थिए। चक्रे मिलन यस पटकको प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट एमालेका तर्फबाट उम्मेदवार थिए।
मनाङेले २०६१ वैशाख ३१ गते महाराजगन्जमा खुकुरी प्रहारबाट चक्रे मिलनको हात काटिएको घटनामा अभियुक्त ठहरिएर जेल सजाय भोगेका थिए। पाँच वर्षको जेल सजायमध्ये उनले एक वर्ष चार महिना कैद भुक्तानी गरेर अहिले जेलबाट छुट पाएका हुन्।
साथै, जेनजी आन्दोलनको बेला भदौ २४ गते देशभरका जेलबाट कैदीबन्दीहरू भाग्दा पनि मनाङे जेलमै बसेका थिए। उनले आफूसँगै रहेका अन्य कैदीबन्दीलाई पनि भाग्न नदिएर रोकेको कारण उनलाई केही कैद कटौती लाभ भएको थियो।
मनाङेको जेलबाट छुटपछि ठमेलमा गरिएको स्वागतले उनको समर्थकमा उत्साह र चासो बढाएको देखिएको छ।