नेपालले आफ्नो आधिकारिक नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनबीच सीमा व्यापार यस वर्षबाट पुनः सुरु हुने भएको छ ।
भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार करिब ६ वर्षपछि उक्त नाका हुँदै दुई छिमेकी देशले पुनः व्यापार सञ्चालन गर्न लागेका हुन् ।
पीटीआईले आशिष भटगाईलाई उद्धृत गर्दै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने व्यापार सत्रका लागि केन्द्र सरकारको निर्देशनअनुसार आवश्यक तयारी सुरु भइसकेको जनाएको छ ।
स्थानीय रूपमा पुलाङ–गुन्जी नामले चिनिने लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्रअन्तर्गत पर्ने तीन गाउँमध्ये एक हो । हाल भारतीय नियन्त्रणमा रहेको यस क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेक नाकासम्बन्धी भारत र चीनबीच भएका द्विपक्षीय सम्झौताप्रति औपचारिक विरोध जनाएको थियो ।
भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेसँगै उक्त व्यापार पुनः सञ्चालनको प्रक्रिया अगाडि बढेको हो ।
त्यसैगरी विक्रम मिस्रीले आनन्द बर्धनलाई पत्र लेख्दै हिमाली नाका हुँदै हुने व्यापार पुनः सञ्चालनका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेका छन् ।