नेपालमा अहिले एलपीजी ग्याँसको अभाव बढ्दै गएको छ । डिलरहरूले आधा ग्याँस मात्र भर्ने गरेका कारण धेरै घरहरूले विकल्पको रूपमा इन्डक्सन चुल्हो प्रयोग गर्न थालेका छन् ।
इन्डक्सन चुल्होले खाना छिटो पकाउने सुविधा दिन्छ, तर यसलाई लिएर विभिन्न अफवाहहरू पनि फैलिएका छन् । कतिपयले भन्छन् कि “इन्डक्सनबाट निस्कने रेडिएसनले खानालाई हानिकारक बनाउँछ, पोषक तत्व नष्ट गर्छ वा क्यान्सर जस्ता रोग निम्त्याउँछ ।”
तर वैज्ञानिक अध्ययनहरूले अधिकांश अफवाहहरू गलत भएको पुष्टि गरेका छन् । इन्डक्सन चुल्हो ग्याँसभन्दा बढी सुरक्षित, छिटो र स्वास्थ्यका लागि राम्रो विकल्प सावित भएको बताइन्छ ।
इन्डक्सन चुल्हो कसरी काम गर्छ?
इन्डक्सन चुल्होले सामान्य ग्यास वा इलेक्ट्रिक चुल्हो भन्दा फरक तरिकाले काम गर्छ । यसले विद्युतीय चुम्बकीय क्षेत्र सिर्जना गर्छ, जसले भाँडोको तल्लो भागमा रहेको फलाम वा चुम्बकीय धातुलाई सिधै तताउँछ। चुल्होको सतह तत्दैन, केवल भाँडो तत्ने भएकाले खाना पकाउँछ ।
यस प्रक्रियामा ८५–९० प्रतिशत ऊर्जा खाना पकाउनमा प्रयोग हुन्छ, जबकि ग्याँस चुल्होमा मात्र ३०–४० प्रतिशत ऊर्जा खाना पकाउन पुग्छ । यसले गर्दा इन्डक्सनमा खाना छिटो पाक्छ, पानी उमाल्न समय कम लाग्छ र बिजुली बचत हुन्छ ।
इलेक्ट्रोम्याग्नेटिक फिल्ड (EMF) र स्वास्थ्य
इन्डक्सनबाट निस्कने तरंगहरू नन–आयनाइजिङ प्रकारका हुन्छन्, मोबाइल फोन, वाइफाइ र माइक्रोवेभ ओभनमा जस्ता । विश्व स्वास्थ्य संगठनले पनि कम स्तरका EMF मानव स्वास्थ्यमा हानिकारक नहुने बताएको छ ।
EMF केवल भाँडोको नजिक सक्रिय हुन्छ र भाँडो हटाएपछि तुरुन्तै बन्द हुन्छ। ३० सेन्टिमिटर वा बढी टाढा रहँदा जोखिम लगभग शून्य हुन्छ । पेसमेकर वा हृदयसँग सम्बन्धित उपकरण भएकाले प्रयोग गर्नु अघि चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।
खानाको पोषक तत्वमा प्रभाव
खाना पकाउँदा पोषक तत्व नष्ट हुनु चुलोको प्रकारमा होइन, तापक्रम, पकाउने समय र पानीको प्रयोगमा निर्भर हुन्छ । इन्डक्सनले छिटो र सटीक ताप नियन्त्रण दिन्छ, जसले भिटामिन सी, फोलेट, बीटा–क्यारोटिन लगायतका एन्टिअक्सिडेन्ट सुरक्षित राख्छ ।
अन्य विधि जस्तै, पानीमा घुल्ने पोषक तत्व नोक्सान हुन सक्छ, तर इन्डक्सनले छिटो पकाउने भएकाले यो समस्या कम हुन्छ । साथै, खाना पकाउँदा स्वाद, रङ र गुणस्तर राम्रो रहन्छ ।
अन्य फाइदा
ग्यासको तुलनामा ऊर्जा दक्षता बढी
खाना छिटो पाक्छ
ताप नियन्त्रण सटीक
कम प्रदूषण र सुरक्षा
यसरी, एलपीजी अभावमा इन्डक्सन चुल्हो उपयोगी, सुरक्षित र स्वास्थ्यअनुकूल विकल्प बनेको देखिन्छ ।