काठमाडौं । बडादसैँका बेला रमाइलो र जमघटका क्रममा मदिरा सेवन गर्ने प्रचलन छ । तर, औषधि सेवन गरिरहेका व्यक्तिले मदिरा पिउँदा त्यसले औषधिको प्रभाव परिवर्तन गर्नुका साथै स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
निद्रा लगाउने औषधि, एलर्जीका औषधि तथा केही एन्टिबायोटिकसँग मदिरा सेवन गर्दा प्रतिकूल असर देखिन सक्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक छ ।
डाइजेपाम, अल्प्राजोलाम र जोल्पिडेमजस्ता निद्रा तथा चिन्ता कम गर्न प्रयोग गरिने औषधिसँग मदिरा सेवन गर्दा अत्यधिक निद्रा लाग्ने, चक्कर आउने, निर्णय क्षमता कमजोर हुने र शरीरको सन्तुलन बिग्रिने जोखिम हुन्छ। गम्भीर अवस्थामा श्वासप्रश्वासमा समेत समस्या आउन सक्छ ।
त्यस्तै, क्लोरफेनिरामिन र डिफेनहाइड्रामिनजस्ता एलर्जीका औषधिसँग मदिरा सेवन गर्दा निद्रा र चक्करको असर बढ्न सक्छ। सेटिरिजिनजस्ता औषधिसँग पनि केही व्यक्तिमा यस्तो प्रभाव देखिन सक्छ। यसले लड्ने तथा सडक दुर्घटनामा पर्ने जोखिम बढाउन सक्छ ।
एन्टिबायोटिक सेवन गर्दा पनि सावधानी आवश्यक
मेट्रोनिडाजोलसँग मदिरा सेवन गर्दा वाकवाकी, बान्ता, पेट दुख्ने, अनुहार रातो हुने तथा मुटुको धड्कन बढ्नेजस्ता प्रतिक्रिया हुन सक्छन् । टिनिडाजोल सेवन गरिरहेका व्यक्तिले पनि मदिराबाट टाढा रहनुपर्छ ।
यी औषधि सेवन गरिरहेको अवस्थामा उपचार अवधिभर र औषधि बन्द गरेपछि चिकित्सकीय निर्देशनमा तोकिएको समयसम्म मदिरा सेवन गर्नु हुँदैन ।
औषधि सेवन गरिरहेका व्यक्तिका लागि मदिरा नपिउनु नै सुरक्षित विकल्प हो । औषधिको लेबलमा दिइएको निर्देशन पालना गर्ने र मदिरासँग औषधिको सम्भावित अन्तरक्रियाबारे चिकित्सक वा फार्मासिस्टसँग परामर्श लिनुपर्छ ।
दसैँको रमाइलोका क्रममा स्वास्थ्यमा जोखिम ननिम्तियोस् भन्नका लागि मदिरा र औषधिको एकसाथ प्रयोगबारे सचेत हुनु आवश्यक छ ।