मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत १०औँ दिनका सेमिफाइनल खेलहरू वीरगञ्जस्थित आदर्शनगर रंगशालामा उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन् ।
स्वर्गीय सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भएको हो भने आयोजकका अनुसार चैत १० गते आज फाइनल खेल हुने तय भएको छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ र कुल २३ खेल खेलाइने कार्यक्रम रहेको छ। विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जानकारी संयोजक केशव खेतान ले दिएका छन् ।
सेमिफाइनलको पहिलो खेल गौरीशंकर हिटर्स र माछापुच्छ्रे बीटीएस ब्लास्टर्स बीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १५ ओभरमा १२१–१२१ रन बनाएर बराबरी खेल्दा खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै गौरीशंकर हिटर्स ले फाइनलमा स्थान सुरक्षित गरेको छ ।
दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण टाइगर्स र कञ्चनजंघा वीरगञ्ज स्ट्राइकर बीच सम्पन्न भयो। पहिले ब्याटिङ गरेको अन्नपूर्ण टाइगर्सले १५ ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । जवाफमा कञ्चनजंघा वीरगञ्ज स्ट्राइकर १५ ओभरमा सबै विकेट गुमाएर १०२ रनमा समेटियो। यसरी अन्नपूर्ण टाइगर्स ८ रनको फरकले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।
आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार आयोजना हुने तय गरिएको छ ।