कोलम्बियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ ।
कोलम्बियाको दक्षिणी क्षेत्रमा पेरु र इक्वेडरको सीमाना नजिकै ‘हर्कुलस सी–१३०’ विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो ।
गएराति भएको उक्त दुर्घटनामा दर्जनौँ सैनिक घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि राजधानी बोगोटा तथा नजिकैका अस्पतालमा लगिएको छ ।
कोलम्बियाली वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाका अनुसार विमानमा १ सय १४ सैनिक र ११ चालकदलका सदस्य सवार थिए। उक्त विमानले सैनिकहरू स्थानान्तरण गरिरहेको थियो ।
कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले घटनालाई देशका लागि अत्यन्त दुःखद भएको बताएका छन् । उनका अनुसार विमानमा आगलागी भएपछि सेनाका गोला–बारुद पड्किँदा दुर्घटना झन् भयावह बनेको हो ।
विमान उडेको करिब डेढ किलोमिटर दूरी पार गरेलगत्तै दुर्घटनाग्रस्त भएको जनाइएको छ ।