राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान आयोजित समारोहमा नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद केसीले राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएको हो । संघीय संसद् सचिवालयका अनुसार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउने कार्यतालिका तय भएको छ।
प्रतिनिधिसभाबाट नयाँ सभामुख निर्वाचित नहुँदासम्म केसीले नै संसद् बैठक सञ्चालन गर्ने जिम्मेवारी सम्हाल्नेछन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूको शपथपछि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठकले विधान संशोधन गर्दै बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको जनाइएको छ । त्यसपश्चात राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ । प्रतिनिधिसभामा एकल बहुमत रहेको रास्वपाले शुक्रबार सरकार गठन गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाका कुल २७५ सांसदमध्ये हालसम्म ४७ सांसदले मातृभाषामा शपथ लिनका लागि नाम दर्ता गराएका छन् ।
संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूको संख्या बढ्दो क्रममा रहेको छ । नेपालमा हाल १२४ मातृभाषा प्रचलनमा रहेका छन्।