रुसले युक्रेनमाथि विगत २४ घण्टाभित्र झन्डै एक हजार ड्रोन प्रहार गरेको छ । यो रुस–युक्रेन युद्ध सुरु भएयताका चार वर्षमा भएको सबैभन्दा भीषण आक्रमणमध्ये एक मानिएको छ ।
युक्रेनी सेनाका अनुसार, यसमध्ये झन्डै ५५० ड्रोन दिउँसोको समयमा आक्रमणमा प्रयोग भएका थिए, युद्धमा दिनदहाडै यति ठूलो आक्रमण विरलै हुने गर्दछ ।
आक्रमणले मृत्यु र घाइते हुनेको संख्या बिस्तृत रूपमा सार्वजनिक नभए पनि, युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले कम्तीमा ४० जनासहित ५ बालबालिका घाइते भएको जानकारी दिएका छन् ।
पश्चिम युक्रेनको इभानो–फ्रान्किभ्स्कमा कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यहाँ एकजना नेशनल गार्ड सैनिक र उनका १५ वर्षकी छोरीको निधन भएको स्थानीय मेयर रुस्लान मार्टसिन्किभले बताए ।
त्यसैगरी ६ वर्षका एक बालकसहित ४ जना घाइते भएका छन् । भिन्नेत्स्यिामा ५९ वर्षका एक पुरुष मारिएका छन् भने ११ जना घाइते भएका छन् ।
युक्रेनी वायु सेनाका प्रवक्ता युरी इग्नातले भने, “युक्रेनमा दिनको समयमा भएका ठूला आक्रमणमध्ये यो एक हो ।” लभिभमा कम्तीमा २२ जना घाइते भएका छन् ।