नेपालका आठ जना क्रिकेटर आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियममा हुने युरोपियन टी–२० लिगमा सहभागी हुन लागेका छन् ।
यसअघि सन् २०२४ को ग्लोबल टी–२० क्यानडा लिगमा नेपालका तीन खेलाडीले खेल्ने अवसर पाएका थिए । ड्राफ्ट प्रक्रियापछि जेबी ब्रुजेस टोलीमा सर्वाधिक पाँच नेपाली क्रिकेटर अनुबन्धित भएका छन् । यस टोलीमा ललित राजवंशी, इशान पाण्डे, अनिल साह र गुलसन झा रहेका छन् । यसअघि नै दीपेन्द्रसिंह ऐरीलाई पनि यो टोलीले अनुबन्ध गरिसकेको थियो ।
यसैगरी, कप्तान रोहित पौडेल घेन्ट ग्ल्याडीयटर्समा अनुबन्धित भए भने आसिफ शेख एन्टवर्प एन्कर्समा स्थान बनाउन सफल भएका छन् । यसअघि सन्दीप लामिछानेलाई लिज रेड लायन्सले अनुबन्ध गरिसकेको थियो ।
ललित राजवंशी, अनिल साह, इशान पाण्डे, गुलसन झा र आसिफ शेखका लागि यो पहिलो विदेशी लिग अनुभव हुनेछ । युरोपियन टी–२० लिगमा कुल पाँच टोलीको सहभागिता रहनेछ ।
नेपालका यी खेलाडीहरूको सहभागीता नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि मानिन्छ । अन्तर्राष्ट्रिय लिगमा खेल्दा उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउने छन् भने विदेशी अनुभवले आगामी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा टोलीलाई बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।