यातायात व्यवसायीहरूले सरकारले सार्वजनिक सवारीसाधनको भाडा नबढाए आफूहरूले स्वघोषणा गरेर बढी भाडा असुल्ने चेतावनी दिएका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा स्वघोषणा गरी असुल गर्ने चेतावनी दिएको हो। यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनमा ११.३३ प्रतिशत भाडा वृद्धि गर्न सिफारिस गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्णय नगरेको भन्दै महासंघ आक्रोशित बनेको छ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
“भाडा समायोजनका लागि पटक–पटक अनुरोध गर्दा पनि हालसम्म सुनुवाइ भएको छैन। दिनहुँ व्यवसायीले लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहनु परेको छ। यस्तो अवस्थामा सेवा बन्द गर्नुपर्ने वा यातायात व्यवस्था विभागबाट सिफारिस भएअनुसार भाडा स्वघोषणा गरेर लागू गर्नुको विकल्प नरहेकोले भाडा समायोजन गर्न जोडदार माग गर्दछौं।”
यसैबीच नेपाल आयल निगमले २ चैतदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएपछि यातायात व्यवसायीहरू भाडा वृद्धि गर्न थप दबाबमा परेका हुन्।