नेपालको संविधानको धारा ७६ (१) अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल ले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने यो पहिलो घटना भएको बताइएको छ ।
नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो १२:३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । शपथको साइतबारे रास्वपाले यसअघि नै राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेको जनाएको छ ।
शीतल निवास स्थित राष्ट्रपति भवनमा हुने शपथ ग्रहण समारोहमा ७ पटक शंखनाद गरिनेछ । त्यस्तै, १०८ जना बटुकद्वारा स्वस्ति शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको थियो। चुनावअघि नै पार्टीले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको थियो ।