नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिएलगत्तै भारतीय समकक्षी मोदीले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
मोदीले आफ्नो सन्देशमा लेखेका छन्, “नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई । यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ ।
हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु ।” यसअघि फागुन २५ गते भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका थिए ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले सानदार जित हासिल गरेपछि पनि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।
उनले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको भन्दै नेपाल सरकार र नेपाली जनताको प्रशंसा गरेका थिए ।