प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले जित हात पारेका छन् ।
जनकपुरमा भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३८ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२४ रन बनाएको थियो । मधेशका मयन यादवले सर्वाधिक ३१ रन बनाए भने लुम्बिनीका सन्देश थापा र सन्तोष यादवले ३/३ विकेट लिए ।
१२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश २६ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमै समेटियो। लुम्बिनीका सुमित श्रेष्ठले ३० रन बनाए भने मधेशका विशाल पटेलले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । यो जितसँगै मधेशले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ भने लुम्बिनीले पहिलो हार व्यहोरेको छ ।
त्यस्तै वीरगञ्जमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । कोशीले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।
सुदूरपश्चिमका खडक बोहोराले ६६ रनको उत्कृष्ट पारी खेले। कोशीका विपिन महतोले २ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १३० रन बनाएको थियो। कोशीका शिवाश बजगाईँले २५ र सुमन श्रेष्ठले २४ रन जोडे। सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए ।
यो जितसँगै सुदूरपश्चिमको यो प्रतियोगितामा दोस्रो जित हो भने कोशी प्रदेशको लगातार तेस्रो हार हो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको छ। खेलहरू काठमाडौँको मूलपानी क्रिकेट मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा सञ्चालन भइरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।