केपी शर्मा ओली लाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ( टिचिङ अस्पताल ) मा भर्ना गरिएको छ। उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
आज बिहान पक्राउ परेपछि ओलीलाई प्रारम्भिक रूपमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ नेफ्रोलोजी विशेषज्ञ डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। साथै, मुटुसम्बन्धी विशेषज्ञहरूले पनि उनको जाँच गरेका थिए। रगत परीक्षण, भिडियो एक्सरे लगायतका आवश्यक परीक्षणपछि उनलाई एनेक्स वानको ५०१ नम्बर बेडमा सारिएको हो ।
ओलीलाई सो भवनमा लैजाँदा उनकै निजी गाडी प्रयोग गरिएको बताइएको छ । टिचिङ अस्पतालको ५०१ नम्बर बेड विशेषगरी मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि प्रयोग गरिन्छ । ओली स्वयं दुईपटक मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन् ।
जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरअन्तर्गत कारबाही सिफारिस भएपछि प्रहरीले उनलाई आज बिहान भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको हो । यसै प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि आजै पक्राउ गरिएको छ ।
शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई आइतबार मात्र अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।