इजरायल र इरान बीच जारी युद्धमा यमनको हुथी विद्रोही पनि प्रत्यक्ष संलग्न भएको छ । इरानलाई समर्थन गर्दै हुथीले पहिलोपटक इजरायलमाथि मिसाइल प्रहार गरेको हो ।
हुथीका बिग्रेडियर जनरल याया सारे का अनुसार, आफ्नो लक्ष्य हासिल नभएसम्म यस युद्धमा सहभागी हुने योजना रहेको छ । इजरायली सेनाले हुथीद्वारा प्रहार गरिएको मिसाइल प्रतिरोध गरेको जनाएको छ ।
हुथीले इजरायलका संवेदनशील सैन्य पूर्वाधारलाई निशाना बनाइएको दाबी गरेको छ । बियर सेब्बा आसपास र इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक आक्रमण भएपछि शुक्रबार राति चेतावनी स्वरुप साइरन बजेको थियो ।
यसअघि हिजबुल्लाह ले २ मार्चदेखि नै युद्धमा इरानको समर्थन गर्दै इजरायलसँग लडिरहेको छ । जवाफमा इजरायलले हिजबुल्लाहको ठूला गतिविधिहरू भएको दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ । अहिलेसम्म ठूलो जनसंख्या यस युद्धमा ज्यान गुमाइसकेको छ ।
यमनको राजधानी साना सन् २०१४ देखि हुथीको नियन्त्रणमा छ । लामो समय आफ्ना क्षेत्रमा अलग रहने हुथीले क्षेत्रीय र वैश्विक अर्थतन्त्रमा परेको प्रभावको कारण युद्धमा सहभागिता जनाएको छ ।
यसअघि हुथी लडाकु ले इजरायल र हमास बीचको युद्धको समयमा रेड सी क्षेत्रमा व्यवसाहिक जहाजमाथि आक्रमण गरेका थिए ।
यो जलमार्गबाट वार्षिक १ ट्रिलियन अमेरिकी डलर बराबरको सामग्री बाहिरिने गर्छ। हर्मुजको जलमार्गमा अवरोध सिर्जना भइसकेको अवस्थामा अहिले साउदी अरेबिया ले पाइपलाइनमार्फत सीमित मात्रामा इन्धन आपूर्ति गरिरहेको छ ।
युद्धमा हुथीको सहभागिताले रेड सी र हर्मुज जलमार्गलाई अझ अस्थिर बनाएको छ ।