पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचाररत रहेका छन् ।
शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई आकस्मिक कक्षमा प्रारम्भिक परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको हो । हाल उनी ‘एनेक्स–१’ भवनको ५०१ नम्बर बेडमा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्थाबारे विभिन्न परीक्षण भइरहेको छ । उनलाई मुटु तथा मिर्गौला रोग विशेषज्ञहरूको टोलीले निगरानीमा राखेर उपचार गरिरहेको छ ।
चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मुटुको चाल बढेको थियो भने पेट दुखेको गुनासो पनि गरेका थिए। एक्स–रे परीक्षण गर्दा पेटमा ढुंगा (स्टोन) देखिएको र सोही कारण दुखाइ भएको हुनसक्ने अनुमान गरिएको छ । हाल पेट रोग विशेषज्ञमार्फत उपचार भइरहेको छ ।
मुटुको अवस्था बुझ्न ‘इको’ परीक्षण गरिएको छ भने मिर्गौलासम्बन्धी थप परीक्षण पनि जारी छ । ओलीले यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका छन् र नियमित रूपमा प्रत्यारोपणपछिको औषधि सेवन गर्दै आएका छन् । साथै, मुटुको एन्जियोप्लास्टी गरिसकेकाले त्यससम्बन्धी औषधि, एन्टिबायोटिक र थाइरोइडको औषधि पनि चलिरहेको चिकित्सकले जानकारी दिएका छन् ।
प्रत्यारोपण गराएका बिरामीमा संक्रमणको जोखिम उच्च हुने भएकाले उनलाई विशेष निगरानीसहित क्याबिनमा राखिएको अस्पतालले जनाएको छ। सबै परीक्षणको रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गर्ने वा थप समय अस्पतालमै राख्ने निर्णय गरिनेछ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।
शनिबार सार्वजनिक बिदा भएकाले दुवै जनालाई आइतबार मात्रै अदालतमा पेश गर्ने तयारी गरिएको छ ।