सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा को सम्पत्तिमाथि अनुसन्धान प्रक्रिया तीव्र बनाएको छ । यसक्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको स्रोतले जनाएको छ ।
प्रमाण नष्ट हुनसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने कार्य प्रहरीले रोकेको छ ।
सत्ताको आडमा अस्वाभाविक तथा गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता भएको थियो। प्राप्त सूचना र प्रमाणहरूलाई आधार बनाएर अनुसन्धानलाई थप अगाडि बढाइएको जनाइएको छ ।
गृह मन्त्रालय र नेपाल प्रहरी सम्बद्ध स्रोतका अनुसार पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनका नजिकका नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ ।
यसैबीच, देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भुषण राणा लगायत व्यक्तिहरूबाट जयवीर देउवा तथा अन्य व्यक्तिहरूको खातामा भएको आर्थिक कारोबारको विवरण पनि संकलन भइरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवा को संलग्नता तथा नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चारसचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादास्पद निर्णयपछि भएका आर्थिक कारोबारसम्बन्धी उजुरीको पनि छानबिन भइरहेको छ ।
यही सन्दर्भमा बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काममा रोक लगाइएको जनाइएको छ ।
देउवा परिवारले उक्त कम्पाउण्डभित्र दुईवटा बंगला निर्माण गरेका थिए, जसबारे यसअघि नै उजुरी परेको थियो । जेनजी आन्दोलनका क्रममा उक्त निवासमा आक्रमण हुनुका साथै आगजनीसमेत भएको थियो ।
पछिल्ला केही दिनदेखि देउवा परिवारको निर्देशनमा क्षतिग्रस्त भवन भत्काउने काम भइरहेको थियो। तर, भवनसँग सम्बन्धित प्रमाण नष्ट हुनसक्ने आशंकामा उच्चस्तरीय निर्देशनअनुसार उक्त कार्य तत्कालका लागि रोकिएको प्रहरीले जनाएको छ ।