सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्रीसहित उच्च राजनीतिक व्यक्तित्वहरूको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् । त्यस्तै, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतबारे पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
यससँगै आरजु राणाका भाइ भुषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको छ ।
दीपक खड्का पक्राउ
यसै क्रममा आइतबार बिहान पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बूढानीलकण्ठस्थित आफ्नै निवासबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।
सीआईबीले खड्काविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिएको छ भने आजै जिल्ला अदालतबाट म्याद थप गराउने तयारी गरिएको छ ।
जलेका नोट भेटिएपछि अनुसन्धान तीव्र
गत भदौ २४ गते भएको आगजनी घटनापछि पूर्वप्रधानमन्त्री देउवा, दाहाल तथा खड्काको घरबाट जलेका नोटका टुक्रा फेला परेका थिए । उक्त घटनापछि विभागले प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएपछि सम्बन्धित व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको थियो ।
सोही आधारमा विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मेवारी दिइएको हो ।