सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ ।
विभागका एक अधिकृतका अनुसार खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । यसअघि उनलाई अदालतबाट ७ दिनको म्याद लिएर प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखिएको थियो ।
गएराति करिब साढे १२ बजे बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । त्यहाँ पनि अवस्था सुधार नआएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको हो ।
हाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको विभागले जनाएको छ । खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी रहेको छ ।