मध्यपूर्वमा इरानसँग जारी तनाव लम्बिँदै जाँदा अमेरिकाले आफ्नो सैन्य उपस्थितिलाई थप विस्तार गरेको छ । अमेरिकी राष्ट्रपति Donald Trump ले केही दिनमै इरान झुक्ने दाबी गरे पनि युद्ध अपेक्षाभन्दा लामो समयसम्म तानिएपछि सैनिक संख्या बढाइएको हो ।
अमेरिकी अखबार The New York Times का अनुसार आइतबारसम्म मध्यपूर्व क्षेत्रमा तैनाथ अमेरिकी सैनिकको संख्या ५० हजार पुगेको छ । सामान्य अवस्थामा करिब ४० हजार सैनिक रहने गरेकोमा हाल थप १० हजार सैनिक पठाइएको हो ।
हालै अमेरिकाले जापानस्थित सैन्य अड्डाबाट २,५०० मरिन ( समुद्री सेना ) मध्यपूर्व पठाएको छ भने पश्चिमी किनारबाट पनि उस्तै संख्यामा फौज परिचालन गरिएको छ । मरिनहरू समुद्रबाट जमिनमा आक्रमण गर्न सक्षम विशेष बल हुन्। यसअघि Pentagon ले ८२औं एयरबोर्न डिभिजनका २ हजारभन्दा बढी प्याराट्रुपर पनि त्यहाँ पठाइसकेको छ ।
मध्यपूर्वमा अमेरिकी नौसैनिक उपस्थितिसमेत उल्लेखनीय छ । USS Abraham Lincoln युद्धपोत सुरुदेखि नै तैनाथ छ भने USS Gerald R. Ford मा आगलागीपछि मर्मतका लागि युरोपतर्फ लगिएको छ ।
कतारी मिडिया Al Jazeera का अनुसार मध्यपूर्वमा अमेरिकाका अस्थायी र स्थायी गरी १९ सैन्य अड्डा रहेका छन् । कतार, बहराइन, कुवेत, यूएई, साउदी अरब, इराक र जोर्डनमा अमेरिकी सेना तैनाथ छ। कतारस्थित अल उदैद एयर बेस अमेरिकी कमाण्ड सेन्टरका रूपमा रहेको छ भने बहराइनमा रहेको ‘फिफ्थ फ्लिट’ले नौसेनाको नेतृत्व गर्छ ।
अमेरिकाले इरानको महत्वपूर्ण ऊर्जा केन्द्र मानिने Kharg Island कब्जा गर्ने रणनीति बनाइरहेको आकलन गरिएको छ । यस टापुबाट इरानको करिब ९० प्रतिशत कच्चा तेल निर्यात हुने भएकाले यसको नियन्त्रणले इरानको अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ ।
यो टापु नियन्त्रणमा लिए इरानलाई Strait of Hormuz मा लगाइएको अवरोध हटाउन बाध्य पार्ने रणनीति हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था Associated Press ले जनाएको छ ।
यसैबीच, राष्ट्रपति ट्रम्पले खर्ग टापु कब्जा गर्नुबाहेक अन्य विकल्पहरू पनि रहेको बताएका छन् । उनले वार्ताबाट समाधानको संकेत दिँदै इरानलाई अप्रिलको पहिलो सातासम्म सहमतिमा आउन अल्टिमेटम दिएका छन् ।
तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने अमेरिकाले स्थल आक्रमणकै तयारी गरिरहेको आशंका व्यक्त गरेका छन् । यसअघि पनि अचानक आक्रमण गरेको उदाहरण दिँदै इरानले अमेरिका भित्रभित्रै आक्रमण योजना बनाइरहेको दाबी गरेको छ ।
इरानका सभामुख Mohammad Bagher Ghalibaf ले अमेरिकी स्थल आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले इरानी सेना अमेरिकी फौजको प्रतीक्षामा रहेको बताएका छन् ।