इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको उक्त विमान हमलामा परेको हो ।
उक्त विमान मशहद विमानस्थलमा पार्क गरिएको अवस्थामा नयाँदिल्लीका लागि उडान तयारीमा थियो। औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री बोकेर भारत आउने तयारी भइरहेका बेला विमानमाथि आक्रमण भएको जनाइएको छ ।
अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व आज ३१औँ दिनमा प्रवेश गरेको छ । हालसम्म तनाव कम हुने कुनै संकेत देखिएको छैन ।
ईयूले प्रतिबन्ध थप्यो
यसैबीच, युरोपेली संघ (ईयू) ले इरानमाथि लगाइएका मानवअधिकारसम्बन्धी प्रतिबन्धहरूलाई थप एक वर्षका लागि विस्तार गरेको छ । अब ती प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म लागू रहनेछन् ।
ईयूका अनुसार, प्रतिबन्धित व्यक्ति तथा संस्थाहरूले युरोपेली देशहरूमा यात्रा गर्न पाउने छैनन् । साथै, उनीहरूको सम्पत्ति जफत वा फ्रिज गरिनेछ । नागरिकमाथि निगरानी वा दमन गर्न प्रयोग हुन सक्ने उपकरणहरू इरानमा निर्यात गर्न पनि रोक लगाइनेछ ।
होर्मुज जलडमरूमध्यमा नयाँ योजना
यता, इरानको संसदको सुरक्षा समितिले सोमबार होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) व्यवस्थापनसम्बन्धी नयाँ योजना स्वीकृत गरेको छ ।
इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार, उक्त योजनाअन्तर्गत सो जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने व्यवस्था गरिनेछ ।
योजनामा अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने प्रावधान समेत समावेश गरिएको छ ।