कास्कीको लिचि बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको हो ।
विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा
विशेष अदालतले लिचि बगान घुस प्रकरणमा मुछिएका गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध गुप्ता सर्वोच्च अदालत पुगेका हुन् ।
उक्त मुद्दामा गुप्तासँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीविरुद्धको मुद्दा लगाउमा राखेर सुनुवाइ भइरहेको छ ।
विशेष अदालतले श्रेष्ठ र अधिकारीलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। सो आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको हो ।
घुस लिएको आरोप
अख्तियारका अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको छ ।
त्यस्तै, गुप्ता र पूर्वमन्त्री श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै सेवा सुविधा प्रदान गर्न २५ लाख रुपैयाँ घुस लिएको आरोप पनि लगाइएको छ ।
अदालतको प्रारम्भिक निष्कर्ष
पोखराको उक्त प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
गुप्ताले अदालतमा दिएको बयानमा आफू निर्दोष रहेको र कसैसँग घुस नलिएको दाबी गरेका थिए। तर, प्रारम्भिक प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर अदालतले गरेको थियो ।
यसअघि सर्वोच्च अदालतले गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने आदेश समेत दिएको थियो ।