अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना त्यहाँबाट बाहिरिने घोषणा गरेका छन् ।
ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि गरिएका हवाई आक्रमण र सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गरेका हुन् । गत महिना Israel सँगको समन्वयमा सुरु भएको उक्त कारबाहीको मुख्य लक्ष्य Iran को आणविक हतियार क्षमता ध्वस्त पार्नु रहेको र त्यो लक्ष्य हासिल भइसकेको उनले बताए ।
ट्रम्पका अनुसार अहिले अमेरिकी सेनाले ‘अन्तिम काम’ पूरा गर्ने क्रममा रहेको छ । उनले इरानको आकाशमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको र इरानी सैन्य शक्ति तथा पूर्वाधारहरू नष्ट भइसकेको दाबी गरे । साथै, इरानका वरिष्ठ राजनीतिक र सैन्य नेताहरूको मृत्युपछि त्यहाँ सत्ता परिवर्तन भई नयाँ नेतृत्व तुलनात्मक रूपमा कम कट्टरपन्थी भएको उनको भनाइ छ ।
ट्रम्पले इरानले वार्ताका लागि आग्रह गरिरहेको दाबी गर्दै औपचारिक सम्झौता भए पनि वा नभए पनि अमेरिकाले तोकिएको समयमै सेना फिर्ता गर्ने स्पष्ट पारे । उनले इरानले भविष्यमा आणविक हतियार विकास गर्न नसक्ने सुनिश्चित भएपछि मात्रै पूर्ण रूपमा बाहिरिने बताए ।
इरानले अमेरिकी प्रविधि कम्पनीहरूलाई दिएको धम्कीप्रति टिप्पणी गर्दै ट्रम्पले व्यङ्ग्यात्मक शैलीमा इरानसँग अब प्रभावकारी सैन्य क्षमता बाँकी नरहेको दाबी गरे ।
युद्धका कारण बढ्दो इन्धन मूल्यबारे बोल्दै उनले सैन्य अभियान अन्त्य भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने विश्वास व्यक्त गरे ।
ट्रम्पले इरानविरुद्धको युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गरेको दाबी गर्दै अब त्यहाँ रहिरहनुको औचित्य नरहेको बताए। यद्यपि, Iran ले यसअघि यस्ता दाबीहरूको खण्डन गर्दै आएको छ ।