गर्मीको समयमा मिर्गौलामा पत्थरी हुने घटनाहरू बढ्ने गर्छन् । तापक्रम बढ्दा शरीरबाट पसिना धेरै निस्कन्छ र डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमी हुने सम्भावना बढ्छ । पर्याप्त पानी नपिउँदा मिर्गौलामा क्याल्सियम र अन्य मिनरलका क्रिस्टल जम्मा भएर पत्थरी बन्न सक्छ। पिसाबमा क्याल्सियम, अक्सालेट र युरिक एसिड बढी हुँदा यी क्रिस्टलहरू पानीको कमीका कारण शरीरबाट बाहिर निस्कन पाउँदैनन् र मिर्गौलामा पत्थरी बन्न पुग्छ ।
मिर्गौलाको पत्थरी हुँदा पिसाब फेर्दा दुखाइ, पिसाबको रङ बदलिनु, पिसाबबाट गन्ध आउनु, पिसाबमा रगत देखिनु, बारम्बार पिसाब लाग्नु, वाकवाकी, बान्ता, घबराहट, लगातार थकान र कमजोरी, ढाडको तल्लो भागमा दुखाइ जस्ता लक्षण देखिन्छ ।
गर्मीमा पत्थरीको जोखिम बढाउने मुख्य कारणमा कम पानी पिउनु, धेरै नुन, चिया, कफी र सफ्ट ड्रिंक्स सेवन गर्नु, तेल र मसला बढी खाने, उच्च प्रोटिनयुक्त खाना खाने, जंक फुड तथा प्याकेज्ड खानेकुरा बढी खाने, सिट्रेटयुक्त फलफूल नखानु, शारीरिक व्यायाम नगर्नु, पिसाब रोक्नु र मद्यपान गर्नु पर्दछ ।
विशेष गरी कम पानी पिउने, पहिले पत्थरी भइसकेका, धेरै पसिना आउने, मोटोपन (ओबिजिटी) वा मधुमेह भएका, घरबाहिर काम गर्ने, उच्च नुन र प्रोटिनयुक्त खाना खाने, चिया-कफी वा सफ्ट ड्रिंक्स बढी सेवन गर्ने, फलफूल र तरकारी कम खाने र प्रायः डिहाइड्रेसनको समस्या झेलिरहने व्यक्ति उच्च जोखिममा पर्छन् ।
पानीको मात्रा पर्याप्त नभएमा पिसाब गाढा रङको हुन्छ। दिनभर कम्तीमा ८–१० गिलास पानी पिउनु आवश्यक हुन्छ । धेरै पसिना आउँदा वा बाहिर काम गर्दा पानीको मात्रा बढाउनु पर्छ । पानीसँगै इलेक्ट्रोलाइट्स (सोडियम, पोटासियम) को सन्तुलन पनि जरुरी हुन्छ। नारिवल पानी, मोही, कागती पानी जस्ता पेय पदार्थले तरल पदार्थ र इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्छ ।
गर्मीमा मिर्गौलालाई स्वस्थ राख्न हल्का, सन्तुलित र हाइड्रेटिङ खानपान अपनाउनु पर्छ । खानेकुरामा खर्बुजा, तरबुजा, काँक्रो, सुन्तला, मौसम, दही र साबुत अनाज उपयुक्त छन् । तर धेरै नुन, जंक फुड, प्रोसेस्ड फुड, रेड मिट, धेरै गुलियो वा तारिएका-भुटेका खानेकुरा, चिप्स, नमकिन र सफ्ट ड्रिंक्सबाट बच्नुपर्छ ।
मिर्गौलाको पत्थरीको जोखिम कम गर्न दिनभर प्रशस्त पानी पिउनु, साइट्रिक फलफूल खानु, नियमित व्यायाम गर्नु, नुन कम खानु, प्याकेटका खानेकुरा र चिप्स-नमकिन कम गर्नु, धेरै प्रोटिन नखानु, सफ्ट ड्रिंक्स र धेरै चिनी नखानु, पिसाब नरोक्नु, मद्यपान नगर्नु र धूम्रपान नगर्नु महत्वपूर्ण हुन्छ ।
साना पत्थरीहरू पर्याप्त पानी पिउँदा आफैं निस्किन सक्छन् । तर कम्मर वा पेटमा तीव्र दुखाइ, पिसाबमा रगत, बारम्बार बान्ता वा वाकवाकी, पिसाब फेर्दा असह्य दुखाइ, पिसाब कम आउनु वा नआउनु जस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ। पत्थरी भएकाले पहिले नै उपचार गराएका व्यक्तिहरूलाई फेरि पत्थरी हुने सम्भावना बढी हुन्छ ।
गर्मीमा मिर्गौलालाई स्वस्थ राख्न हल्का, सन्तुलित र हाइड्रेटिङ खानपान र नियमित जीवनशैली अपनाउनु अति जरुरी छ । यसले पत्थरीको जोखिम कम गर्दै मिर्गौलालाई सुरक्षित राख्छ ।