जेनजी आन्दोलनपछि परिवर्तन भएको राजनीतिक कोर्स र त्यसपछिको प्रतिनिधि सभा निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारको नेतृत्वमा पुर्याएको छ । यससँगै विगतमा बेथितिको सिकार बनेका विषयहरू सुधार हुने अपेक्षा आम नागरिकमा बढेको छ ।
यस्तै अपेक्षाको केन्द्रमा रहेको छ लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना । सरोकारवालाहरूले अब कारखाना पुनः सञ्चालन हुने आशा व्यक्त गरेका छन् ।
बालेन शाहको नेतृत्वमा बनेको सरकारले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ । उक्त कार्यसूचीमा नपरे पनि बुटवल धागो कारखाना यही सरकारको पालामा पुनर्जीवित हुन सक्नेमा सरोकारवालाहरू विश्वस्त देखिन्छन् ।
कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्माले वर्तमान सरकारबाट उद्योग सञ्चालनका लागि आवश्यक पहल हुने विश्वास व्यक्त गरे। उनका अनुसार सरकारले चाहेको खण्डमा कारखाना पुनः सञ्चालन सम्भव छ ।
नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले व्यवस्थापन कमजोरीका कारण उद्योग बन्द भएको उल्लेख गर्दै नयाँ सरकारले यसको पुनः सञ्चालनमा ध्यान दिनुपर्ने बताए। उनका अनुसार कारखाना सञ्चालन भएमा कम्तीमा एक हजारभन्दा बढीले रोजगारी पाउनेछन् र धागो निर्यातको सम्भावना पनि रहनेछ ।
उनले सरकारको लगानी रहेको उद्योग सञ्चालनमा निजी क्षेत्रले पनि साथ दिने बताए। साथै, कारखानामा उत्पादित धागोबाट सरकारी कर्मचारी तथा सुरक्षा निकायका लागि पोसाक उत्पादन गर्न सकिने उनको भनाइ छ ।
बुटवल उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले कारखानाको पुनःसंरचना आवश्यक रहेको बताए । उनका अनुसार पुराना मेसिनहरूको मर्मत तथा नयाँ प्रविधिको प्रयोग आवश्यक छ। यदि कारखाना सञ्चालन नगर्ने हो भने उक्त क्षेत्र अन्य उद्योगका लागि उपलब्ध गराउनुपर्ने उनको धारणा छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले आधुनिक प्रविधिसहित उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले निजीकरणभन्दा सरकार आफैंले उद्योग सञ्चालन गर्दा दीर्घकालीन फाइदा हुने उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारी मोडललाई उपयुक्त विकल्पका रूपमा अघि सारे ।
२०३९ सालमा स्थापना भएको बुटवल धागो कारखाना नेपालगन्जको खजुरामा उत्पादन भएको कपासबाट बुटवलमा धागो र हेटौँडामा कपडा उत्पादन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको थियो। एक समय देशकै गौरवका रूपमा रहेको यस कारखानाको उत्पादन भारतसम्म निर्यात हुने गरेको थियो ।
वाणिज्य संघका पूर्वअध्यक्ष जीवन प्रसाद ओझाका अनुसार राजनीतिक हस्तक्षेपका कारण व्यवस्थापन बिग्रिँदै जाँदा अन्ततः उद्योग बन्द हुन पुगेको हो ।
हालै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका लागि पोसाक स्वदेशमै उत्पादन गर्ने अभिव्यक्ति दिएका छन्। यसले पनि बुटवल धागो कारखाना पुनः सञ्चालन हुने आशा बढाएको सरोकारवालाहरूको भनाइ छ ।
प्राध्यापक माधव कुमार पौडेलका अनुसार कारखाना सञ्चालन हुँदा बुटवल मात्र नभई समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ। यसले युवाहरूलाई रोजगारी दिने मात्र नभई कपास खेतीसँग सम्बन्धित किसानदेखि व्यापारीसम्मलाई लाभ पुग्नेछ ।