रास्वपा सभापति रवि लामिछानेले आफूहरू माथि चौबिसै घण्टा निगरानी राख्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् ।
बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ उनले भने । साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको स्मरण गराउँदै जिम्मेवारी अझै कायम रहेको बताए ।
‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो फेरि गुमेको अवसर बन्यो भने हामी कलंकित हुनेछौं । हामीलाई त्यो स्वीकार्य छैन,’ उनले भने ।
लामिछानेले रास्वपाका सांसदहरूलाई जनताका प्रश्नहरूको जवाफ दिनुपर्ने नैतिक जिम्मेवारी अझै उस्तै रहेको स्मरण गराए।
‘हामी प्रश्न सोधेर आएका हौं, बस्ने ठाउँ फेरिएको हुन सक्छ, तर ती प्रश्नप्रति हाम्रो जिम्मेवारी उस्तै छ,’ उनले भने ।
साथै, उनले आफूहरू प्रश्न मात्र उठाउने नभई समाधान र जवाफ खोज्ने पक्षमा रहेको बताए ।
‘हामी प्रश्न देखाउन मात्रै होइन, जवाफ खोज्न पनि आउँछौं, र त्यो देखाउनुपर्छ,’ उनले जोड दिए ।