रामबहादुर थापा (बादल) लाई नेकपा एमाले ले पार्टीको मूल्य – मान्यता विपरीत अभिव्यक्ति नदिन सचेत गराउने भएको छ । आज बस्ने सचिवालय बैठकबाट उनलाई औपचारिक रूपमा सचेत गराइने एक नेताले जानकारी दिएका छन् ।
एमाले सचिवालय बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । एक नेताले सञ्चारमाध्यमसँग भने, “बादलजीले हिजो संसदमा पार्टीको धारणा विपरीत अभिव्यक्ति दिनुभयो । उहाँलाई संसदीय प्रक्रियाबारे अवगत गराइनेछ र भविष्यमा त्यस्तो नगर्न सचेत गराइनेछ ।”
बादलले गत १९ चैतको प्रतिनिधिसभा बैठकमा भदौ २३ – २४ गते भएको ‘जेनजी’ आन्दोलन तथा फागुन २१ को चुनाव सन्दर्भमा सबै परिणाम षड्यन्त्रपूर्ण भएको टिप्पणी गरेका थिए । उनले नेपाली सेना, कर्मचारीतन्त्र तथा विदेशी निकायहरूलाई समेत आरोप लगाउने अभिव्यक्ति दिएका थिए, जुन एमालेको आधिकारिक धारणा विपरीत रहेको बताइएको छ ।
उनको उक्त अभिव्यक्तिपछि पार्टीभित्र तरंग सिर्जना भएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल ले आजको सचिवालय बैठकमा यस विषयमा गम्भीर छलफल हुने र आवश्यक निर्णय गरिने बताएका छन् ।
हाल बादल एमालेको समानुपातिकतर्फबाट सांसद छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनी कार्यवाहक अध्यक्ष तथा संसदीय दलको नेताको जिम्मेवारीमा छन् ।
यसैबीच, एमाले नेता सुरेन्द्र पाण्डे ले पनि बादलको अभिव्यक्तिप्रति अप्रत्यक्ष टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक अवस्था सिर्जना हुनुमा एमाले नेतृत्वको अघिल्लो सरकारको अकर्मण्यता पनि जिम्मेवार रहेको बताएका छन् ।