मकवानपुरको हेटौंडाबाट अनलाइन मार्फत ठगी गरेको आरोपमा नौ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
हेटौंडा–४ स्थित पारिजात पथमा स्थानीयको घर भाडामा लिएर ठगी गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार, पक्राउ पर्नेमा भारतको विभिन्न ठाउँका नवनीत कुमार, शाहरूख खान, कुन्दन कुमार, आशिष कब्डौला, विशाल कक्कड, लोकेश कुमार दुवे, विकास कुमार सिंह, अरुणकुमार र कुनाल शर्मा छन् ।
उनीहरूबाट सात वटा ल्यापटप, तीन वटा राउटर, १३ वटा मोबाइल लगायत सामग्री बरामद गरिएको छ । २०८० फागुन १० मा दर्ता गरिएको मेडी असिस्ट कम्पनी मार्फत ठगी भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । कम्पनीले कुनै आर्थिक कारोबार कानून बमोजिम नगरेको र अभिलेखीकरण पनि नगरिएको पाइएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको अनुमति लिइएको छ ।