प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ ।
वीरगंजस्थित नारायणी क्रिकेट मैदान मा भएको खेलमा २२७ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रनमै सीमित रह्यो ।
कोशीका लागि दिपेश कंडेलले ७३ बलमा ५२ रन बनाउँदै अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै आशिष मगरले ३०, सुमन श्रेष्ठले २०, सकिब हकले १७ र शिवांश बजगाईंले १५ रनको योगदान दिए ।
गण्डकीका किब्रीन श्रेष्ठले ३ विकेट लिए भने अप्राजित पौडेल र सुवास भण्डारीले समान २–२ विकेट हात पारे। कप्तान विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। सुरुवाती अवस्थामा ६० रनमै ६ विकेट गुमाएर दबाबमा परेको गण्डकीलाई ओपनर अर्जुन कुमालले उत्कृष्ट शतक प्रहार गर्दै उकासेका थिए। उनले १४१ बलमा १०२ रन बनाएका थिए ।
प्लेयर अफ द म्याच बनेका अर्जुन कुमालसँग विपिन खत्रीले १७६ रनको महत्वपूर्ण साझेदारी गर्दै ८६ बलमा ७६ रन जोडे। उनको इनिङ्समा ६ चौका र २ छक्का समावेश थियो ।
गण्डकीको सुरुवात भने कमजोर रह्यो। ओपनर गौरव विक शून्यमै आउट हुँदा किब्रीन श्रेष्ठ र दिनेश बुढामगर १–१ रनमै पवेलियन फर्किए । दीपक डुम्रेले १५ र मुस्कान थापाले १० रन बनाए पनि टोली दबाबमा परेको थियो ।
कोशीका दिपेश कंडेलले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए । राकेश साह र सुजन थपलियाले समान १–१ विकेट हात पारे ।
यस जितसँगै गण्डकी प्रदेश ५ अंकसहित तालिकाको सातौँ स्थानमा उक्लिएको छ भने लगातार हार व्यहोरेको कोशी प्रदेश १ अंकसहित पुछारमा रहेको छ ।