गृहमन्त्री सुधन गुरुङले ३६ वर्षदेखि ‘हतकडी’ अपराधीलाई होइन, सुरक्षाकर्मीलाई लगाएर राखिएको टिप्पणी गरेका छन् ।
आइतबार बिहान उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।”
यसैबीच, प्रहरीले सेवा प्रवाहमा बाधा पुग्ने गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध विशेष अपरेसन सञ्चालन गरेको छ । काठमाडौँ उपत्यकामा मात्र हालसम्म करिब १५० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, गुन्डागर्दी गर्ने तथा यात्रुहरूलाई दुःख दिने व्यक्तिहरूलाई लक्षित गरी विशेष अपरेसन सञ्चालन गरिएको हो ।
उनका अनुसार पछिल्लो एक सातामा मात्रै १८९ जनालाई पक्राउ गरिएको छ। बसपार्क, विमानस्थल तथा यातायात कार्यालयहरूमा बिचौलिया गतिविधि गर्ने तथा सार्वजनिक स्थलमा असहजता सिर्जना गर्नेहरूमाथि कारबाही भइरहेको उनले बताए ।
यसैगरी रात्रीकालीन व्यवसाय हुने क्षेत्रहरूमा पनि निगरानी बढाइएको र सो क्रममा १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार बिचौलिया, नागरिकलाई दुःख दिने, दुर्व्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्नहरूमाथि कारबाही गर्न देशभरका प्रहरी कार्यालयहरूलाई परिपत्र जारी गरिएको छ ।
प्रहरीले यस्तो अभियान निरन्तर जारी रहने जनाएको छ ।