सरकारले पेट्रोलियम आपूर्तिमा असहजता उत्पन्न भएको भन्दै सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले भोलिदेखि नै लागू हुने गरी शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार पेट्रोलियम आपूर्तिमा देखिएको असहजताका कारण २०८२ चैत २३ गतेदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा लागू गरिनेछ ।
साथै शैक्षिक संस्थाबाहेक अन्य कार्यालयहरूको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिनेछ । यस निर्णयसँगै अब सबै सरकारी कार्यालयहरू बिहान ९ बजे खुल्ने र अपराह्न ५ बजे बन्द हुने भएका छन् ।
बैठकले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी “डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट”का लागि एसियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन डलर गरी कुल ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरिएको छ ।
त्यस्तै दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले संघीय सरकारका सबै मन्त्रालय, सचिवालय र आयोगअन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।
डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाको राजीनामा स्वीकृत गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।